पहिलो क्रसओभर ‘अप्रिलिया स्ट्रोम स्कुटर’ बजारमा सार्वजनिक

203

जेठ २४,
काठमाडौँ । अप्रिलियाको उच्चस्तरीय इटालियन रेसिङ टेक्नोलोजी भएको अप्रिलिया स्ट्रोम स्कुटर बजारमा आएको छ । दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । सो प्रालिका अनुसार, यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी सवारीको लागि निर्माण गरिएको स्कुटर हो । यसमा १२५ सीसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा सवारलाई शक्तिशाली तथा आरामदायी राइडिङ अनुभव दिन्छ । अप्रिलिया स्ट्रोम दुईवटा पृथक रंग म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा उपलब्ध छ, जसले इटालियनको उच्च प्रविधि र वनावटको दक्षता प्रस्तुत गर्ने दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले जनाएको छ ।

‘यो १२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ तथा सो को कारणले यसको राइड अरुभन्दा सुरक्षित र आरमदायी हुन्छ,’ सो प्रालिले विज्ञप्तिमार्फत जनाएको छ । यो स्कुटर हिजो बिहीबार पुल्चोकस्थित लविम मलमा एक कार्याक्रमका बीच दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका अध्यक्ष मोतीलाल दुगडले सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले यो स्कुटरले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

यसै कार्यक्रममा दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगड़ले कम्पनीले नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको विशेष मूल्य आगामी असार मसान्तसम्मका लागि २ लाख २४ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको जानकारी गराए । उनले अप्रिलियाको यस्तो प्रिमियम प्रोडक्ट यो विषेश मुल्यमा नेपाली ग्राहकहरुलाई उपलब्ध गराउन सकेकोमा खुसीसमेत व्यक्त गरे । उपाध्यक्ष दुगडले भेस्पाको बारेमा जानकारी गराउँदै भने, ‘ई.सं. १९४६ मा स्थापित भएको यो एउटा इटालियन कम्पनी हो र यो आफ्नो विशेष डिजाइन र प्रविधिका लागि विश्वमै ख्याती प्राप्त गर्न सफल भएको कम्पनी हो । नेपाली बजारमा भेस्पाको बिक्री बितरण ई.सं.२०१५ देखि सुभारम्भ भएको थियो र यसले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको छ ।’

यो कम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि बनाउछ । अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जिति विश्वमै सबैभन्दा बढि रेस जित्ने इतिहाँस बनाउन सफल भएको ब्राण्ड हो । यस्तो ब्राण्ड उत्पादन गर्ने कम्पनीसँग जोडिन पाएकोमा उनले गौरव महसुस भएको बताए । यसै क्रममा कम्पनीका हेड अफ अपरेशन (भेस्पा÷अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराउँदै भने, ‘हामी नेपालमा आक्रामक ढंगले यसको बजार बिस्तार गर्दैछौं र हाल २२ वटा विभिन्न शाखा तथा डिलरहरु मार्फत बिक्री बितरण गरिरहेका छौं । साथै आगामी ६ महिनामै थप १० वटा नयाँ सहरमा आफ्नो साखा तथा डिलरहरुको सञ्जाल बिस्तार गर्ने छौं र नेपाली जनतालाई उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्दछौं ।’