काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठमेलबाट ८७ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँलाई लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बनाएर भइरहेको अवैध कारोबारमा प्रहरीले ठुलो सफलता हात पारेको छ । मंसिर ११ मा कोरियन नागरिक सुक चोन ली पक्राउ परेका हुन् । उनले विमानस्थल हुँदै पास गराएको ३ केजी कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले जानकारी दिए।
ब्यूरोको टोलीले उनलाई ठमेल स्थित एक होटलबाट पक्राउ गरेको हो । यसअघि कोकिन कारोबारमा कोरियन नागरिकको संलग्नता देखिएको थिएन । अनुसन्धानका क्रममा उक्त कोकिन लिन आएका भारतीय नागरिक दिपक उत्तम बाघमारेलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनी भारतीय प्रहरीका जवान रहेको अनुसन्धानबाट थाहा भएको छ । उनको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई’ परिचयपत्र फेला परेको ब्यूरोका अनुसन्धान अधिकृतहरू बताउँछन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौँमा कोकिनको कारोबारमा कोरियन नागरिक पक्राउ परेको यो पहिलो पटक हो । यो घटनाले लागुऔषध तस्करहरूले नेपाललाई नयाँ र अनपेक्षित गन्तव्यको रूपमा प्रयोग गर्न खोजेको देखिएको छ । कोकिन रिसिभ गर्न आएका व्यक्ति भारतीय प्रहरीको बहालवाला कर्मचारी हुनुले यो घटनालाई थप गम्भीर र रहस्यमय बनाएको छ । भारतीय प्रहरी बाघमारे पनि हवाईमार्गबाट नै काठमाडौँ आएका हुन् ।














