काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका टुङ्गो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।
सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो । बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ ।
यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पार्नुभएको छ । सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो ।













