फिल्मबाट फुर्सद भएपछि पुस्तक लेख्न सक्छु ; प्रदीप

244

जेठ २४,
काठमाण्डौ । अभिनेता प्रदीप खड्का अहिले आफूलाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजको तयारीमा व्यस्त छन् । फिल्मको साउनपछि छायांकन सुरु हुँदैछ । केही महिनायता प्रदीप फिल्मका लागि कपाल बढाउन र शरीर संगठित बनाउन जिममा कडा कसरत गरिरहेका छन् । चाँडै यस फिल्ममा उनले रोमान्स गर्ने अभिनेत्रीको टुंगो लाग्दैछ । अर्थात् ‘गीत’ को । फिल्म आउँदो चैत २८ मा रिलिज हुँदैछ । छेतेन गुरुङ र सन्तोष सेनले मिलेर ‘प्रेमगीत ३’ निर्देशन गर्दैछन् । यस फिल्मका खातिर अभिनेता प्रदीपले थुप्रै फिल्म रिजेक्ट गरेका छन् । अनुबन्ध भइसकेको निर्देशक द्वय रामबाबु गुरुङ र हेमराज विसीको फिल्म समेत उनले आउँदो वर्षलाई सारेका छन् । ‘प्रेमगीत ३’ को तयारीमा कुनै कमी नहोस् भन्ने चाहन्छन्, उनी । ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’ बाट असफलता भोगेका उनलाई यो फिल्मबाट ठूलो आशा छ ।

‘क्युट, जेन्टलमेन र चकलेटी’ लुक्सले राम्रो फ्यान फलोइंग बनाएका प्रदीपले फिल्मबाट फुर्सद भएपछि आफ्नो जीवनमाथि पुस्तक लेख्न सक्ने बताएका छन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफमा उनले ठट्यौली शैलीमा भने, ‘अहिलेसम्म मेरो बारेमा पुस्तक लेखियोस् र म आफैं लेखुँ भन्ने सोचेको छैन । तर, जीवनमा जति पनि उचारचढावहरु भइरहेका छन्, कुनै दिन पुस्तक लेखिएला कि भन्ने डर हुन थालेको छ ।’ फिल्मबाट फुर्सद भएपछि पुस्तक लेख्ने सोच पलाएको खण्डमा लेख्न सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले मेरो जीवनमाथि पुस्तक लेख्न दिने र म आफैंले खेल्ने कुनै प्लान छैन । फिल्म पछाडि म फुर्सद हुन थाले भने चाहिँ सोच्न सक्छु ।’ अहिलेसम्म आफ्नो जीवनमाथि पुस्तक लेख्न आफूले कुनै अतुलनीय काम नगरेको उनको भनाई छ । ‘मैले नेपाल, नेपाली र फिल्म क्षेत्रलाई केही योगदान दिन सकुँ, जसमा पुस्तक लेख्न लायक होस्’, उनी सुनिए ।

उनले आफूलाई कसैको बायोग्राफीमा फिल्म गर्ने इच्छा रहेको पनि बताए । ‘हाम्रो समाजमा धेरै ‘हिरो’ हरु छन्, जसको कथामा फिल्म बन्न सक्छ । मलाई ती ‘हिरो’ हरुको कथामा फिल्म गर्न मन छ । समाजलाई केही सन्देश दिनसक्ने कसैको बायोग्राफीबाट अफर आयो भने गर्न सक्छु’, उनले भने । प्रदीप आफू ‘प्रेमगीत ३’ लाई लिएर उत्साहित रहेको पनि बताउँछन् । उनले ‘गीत’ को भूमिकाका लागि अडिसन दिने २५ जना युवतीलाई शुभकामना पनि दिए । filmykhabar.com