आज ‘विश्व टेलिभिजन दिवस’

113

मंसिर ५,
कलाकार, निर्माता, निर्देशक नीर शाहको कलाक्षेत्रमा जति ठूलो नाम छ, त्यस्तै पहिचान टेलिभिजन क्षेत्रमा पनि छ । उनी नेपाली टेलिभिजनका पिता भनेर पनि चिनिन्छन् ।

नेपालकै पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ देशमा भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनी यसको पहिलो अध्यक्ष, महाप्रवन्धक पनि हुन् । आज ‘विश्व टेलिभिजन दिवस’ हो । यही सन्दर्भ पारेर नेपालमा टेलिभिजन भित्रिनुको कारण, चुनौती र नेपाल टेलिभिजनको पछिल्लो अवस्थाको विषयमा शाहसँग गरिएको कुराकानी उनकै शब्दमा

जतिबेला टेलिभिजन सुरु गर्ने तयारी हुँदै थियो यहाँका ठूलाठूला नीतिनिर्माता, योजनाकार र ब्युरोक्र्याटस् गलल गलल हाँस्नुहुथ्यो । त्यसो हुनुको मुख्य कारण उनीहरू समयको विकाससँग आफूलाई परिचित राख्न नसक्नुको थियो ।

टेलिभिजनको कुरा गर्दैगर्दा एक जनाले मोबाइलबारे भनेको कुरा पनि सान्दर्भिक होला । उनले मोबाइल फोन पयोग गर्ने ५ जना मात्रै निस्किए भने मेरा काममा कौडी झुन्ड्याइदिनु भनेका शब्दहरू मलाई अझै ताजा छ ।

टेलिभिजनको कुरा गर्दा त यो हुनै नसक्ने, जिरो प्रतिशत सम्भावना बोकेको परियोजना हो भनिन्थ्यो । टेलिभिजन हेर्ने मानिस भेटिँदैन भनिन्थ्यो । त्यो अवस्थाबाट गुज्रिएर अहिलेको अवस्थासम्म आइपुग्दाको एउटा प्रतक्षदर्शी म आफै हुँ ।

२०४१ मा भयो टेलिभिजनको जन्म

वि।सं २०४१ माघ १७ गते नेपाल टेलिभिजन परियोजनाको जन्म भयो । त्यसको प्रमुखको रूपमा म नियुक्त भएँ । दुवै कार्य एकै दिन भयो । त्योभन्दा अगाडि म तत्काली शाही नेपाल चलचित्र विकास कम्पनीमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा मैले चलचित्रको विकास र टेलिभिजनको स्थापनासम्बन्धी एक एक कार्यपत्र तत्कालीन श्री ५ को सरकारलाई बुझाएको थिएँ ।