एप्पललाई अर्को सफलताः बजार मूल्य १० खर्ब डलर पुग्यो

163

साउन १८,
न्यूयोर्क । आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७।३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो ।

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो । स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।