“सरकार गल्लीमा छ, बाटो नै देख्दैन”

दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ। २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो। सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहनाअनुसार एउटै पनि काम नभएको दाबी गर्ने उहाँ सरकारले कुनै बाटो नलिएको बताउनुहुन्छ। उहाँ सरकार बाटोमा भन्दा पनि गल्लीमा भएको तर्क गर्नुहुन्छ।
नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व बढेकामा उहाँलाई पनि चिन्ता छ। उहाँले कुनै पनि बहानामा कांग्रेसलाई कमजोर पार्न खोजिएको बताउनुहुन्छ। निर्वाचनका बेलामा देखिने अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्नु पार्टीको प्रमुख दायित्व हो भन्ने उहासँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी ः

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

अहिलेको राजनीतिक अवस्था अत्यन्तै चिन्ताजनक छ। गत साल भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो वा त्यो आश्वासन दिएर भनेजस्तो मत ल्याउन सक्यो। केही होला कि भनेर जनताले मतदान पनि गरे तर अहिले हिजो उनीहरूलाई मतदान गर्नेहरू पछुताउन थालेका छन्। सरकार एकातिर दिनैपिच्छे कमजोर बन्दै गएको छ भने अर्का्तिर जनतालाई सधैं आरोप लगाउँदै अघि बढेको छ। साँँच्चै भन्ने हो भने यो सरकार हो कि होइन भन्ने नै कन्फ्युज छ। जताततै काण्ड छ, एकपछि अर्को शृंखला बढ्दै गएको छ। तर पनि सरकार टुलुटुलु हेरेर बसेको छ। आपराधिक घटना रोक्नुको साटो उल्टै प्रश्रय दिइरहेको छ। पार्टीगतभन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्नमा नै सबै तल्लीन छन्।

भनेपछि अब भोलिका दिनमा केही आशा गर्न सकिन्छ कि सकिँदैन ?

यही ताल हो भने आशा होइन, झनै निराशा बढेर जान्छ। अहिलेसम्म कुनै पनि राम्रो काम एउटै भएको कसैले देखाउँछ भने म पुरस्कार दिन्छु। म त विपक्षी पार्टीको मान्छे भएँ केही आलोचना गरौंला तर सत्तापक्षका साथीहरूले पनि हाम्रो सरकार र पार्टी कमजोर भयो भनिरहेका बेला मैले पनि त्यसैमा थप्नु उपयुक्त नहुन सक्छ। देशमा नयाँ व्यवस्था फेरिएको छ, यसमा धेरैको आशा थियो तर व्यवहार नफेरिँदा ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै भएको छ। दुई तिहाइको सरकार भनेर प्रधानमन्त्री ओली घमण्ड गर्दै रमाएका छन्। यो संख्या केबल रमाइलो मान्नका लागि मात्र सीमित र≈यो। सुशासन दिन, रोजगारी सिर्जना गर्न र जनताको हक, अधिकार संरक्षण गर्न यो सरकारले सकेन। जिम्मेवार पदमा बसेका मान्छेले दिएका जथाभावी अभिव्यक्तिले नै सरकार के गर्दै छ भन्ने सजिलै बुझ्न सकिन्छ। एउटा राम्रो पक्ष लोडसेडिङ अन्त्य भएको छ तर यो सरकारले मात्र गरेको हो भन्नेचाहिँ होइन। सधैं अरूलाई गाली गरेर, बक्रनजर लाएर र सरापेर सरकारले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा हुन सक्दैन। कि नारा फेर्नुप¥यो कि व्यवहार। म त भन्छु यो नारालाई परिवर्तन गरेर सुखी म, समृद्ध मेरो परिवार र नातागोता भन्नुपर्ने भएको छ।

जताततै काण्ड छ, एकपछि अर्को शृंखला बढ्दै गएको छ। तर पनि सरकार टुलुटुलु हेरेर बसेको छ। आपराधिक घटना रोक्नुको साटो उल्टै प्रश्रय दिइरहेको छ।

यो बेला सरकारले के गर्नुपर्दथ्यो ?

मुख्य गरी यो सरकारले प्रमुख प्रतिपक्षीको पनि कुरा सनेर अरूसँग पनि सहयोग मागेर जानुपर्दथ्यो तर, अहिले त्यो अवस्था छैन। म मात्र जान्ने हुँ अरू केही होइनन्, केही काम लाग्दैनन् भन्दा यो अवस्था आयो। अरूले पनि जानेका होलान् र केही ज्ञान लिऔं भन्ने सोच नै पलाएन। सँगसँगै नेपाली कांग्रेस किन बोलेन भन्ने प्रश्न पनि आएको छ। यसको खास अर्थ के हो भने शुरूमा नै किन विरोध गर्नु, केही काम गरोस् भनेर चित्त नबुझेका कुरामा पनि चुपचाप भयौं। कांग्रेस नबोल्दा अहिले भइरहेको व्यवस्थामाथि नै प्रहार भएको छ, जनताका हक अधिकार खोसिएका छन्। यतिसम्म कि जनताको बोल्न पाउने मौलिक हक पनि खोसिएको छ। पत्रकारलाई नियन्त्रण गर्न अनेक किसिमका कानुन बनाइएको छ। वास्तवमा यो सरकार जनताको हो र जनताकै लागि काम गर्दै छ भन्ने अनुभूति नै हुन सकेन।

कांग्रेसको भूमिका संसद्मा प्रभावकारी हुन सकेन भनिन्छ नि ?

तपाईंले भनेजस्तै अरूले पनि गुनासो गरेका छन् तर कुरा के हो भने हिजोका दिनमा कांग्रेस सत्तामा हुँदा विपक्षीहरूले संसद्मा गर्न मिल्ने/नमिल्ने सबै काम गरे। कतिपय अवस्थामा त संसद् बैठक चल्न नै दिएनन्। अनावश्यक माग राखेर संसद् बन्द गर्नु लोकतान्त्रिक पद्धतिविपरीतको कदम हो। कांग्रेसले अरूलाई पनि पाठ सिकाउने भएकाले भरसक आफैं गल्ती गर्नु हुँदैन। रेलिङ भाँच्ने, कुर्सी तोडफोड गर्ने काम कांग्रेसको रुचि होइन तर, हामी यति लचक हुँदा पनि समन्वय नगरी एकलौटी ढंगले हिँड्न खोज्नु दुर्भाग्य हो। सरकारले संविधान मिचेको छ, न्यायालयमाथि आक्रमण गरेको छ।

सरकारले लिएको बाटो गलत भन्नुभयो नि किन ?

गलत भन्ने कुरा नै होइन, सरकार बाटोमा नै छैन। उसले अब के गर्ने भन्ने योजना नै बनाउन सकेको छैन। सरकार त गल्लीतिर भौंतारिएको छ। यो संसद्को झन्डै ४० प्रतिशत समय सकिएको छ, पछि पनि निर्वाचन गर्नुपर्छ। जति समय छ त्यसमा काम गरोस्, जनताको मन छोएर फेरि पनि निर्वाचन जितोस् शुभकामना। तर अहिलेको गतिविधि हेर्दा अबको निर्वाचनमा नेकपाको अस्तित्व बच्यो भने भाग्य भनेजस्तै भएको छ।

नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भएकाले विपक्षीसँग प्रतिकार गर्न नसकेको हो ?

हामीलाई प्रतिकार गर्नु, लड्नु र पौरख देखाउनु छैन। कांग्रेसमा केही समस्या छ यो सत्य हो, यसलाई विचार समूहका रूपमा लिनुपर्छ तर यति भन्दाभन्दै पनि सधैं यही कारणले पार्टीलाई संकटमा लान्छ भने वास्तविक निकासतिर लाग्नुपर्छ। अहिले त सरकारले भत्काउने काम मात्र गरेको छ। कांग्रेसले नै संकलन गरिदिएको देशको ढुकुटीमा रजाइँ गर्दै आएको छ। निर्धा्रित समयमा नै महाधिवेशन होस् भन्ने सबैको चाहना हो। अहिलेको नेतृत्वले पनि पार्टीलाई हाँक्न नसकेको गुनासो छ।

२०७० सालमा सांसद हुनुभयो, त्यतिबेला जनताको पक्षमा के काम गर्नुभयो ?

गर्न त धेरै काम गरेको हुँ, दुःखलाग्दो कुरा के छ भने बन्दै गरेका कतिपय योजना पनि अहिले बन्द भए। यतिसम्म कि भइरहेका आयोजना पनि अघि बढ्न सकेनन्। यसको अर्थ अहिले जो प्रतिनिधि भएका छन्, उनले काम गर्न सकेनन् वा उनको पहुँच पुगेन। तर पनि म आफ्नो जिम्मेवारीबाट भागेको छैन।

तपाईं खानेपानी राज्यमन्त्री हुनुभयो, के कारणले अहिले मेलम्ची आउन सकेन ?

म मन्त्री हुँदा धेरै पहल गरेको हुँ। झन्डै १/२ प्रतिशतमात्र काम सकिन बाँकी थियो। अहिले अनेक बहानाबाजी गरेर मेलम्ची आयोजनालाई धकेल्ने र पानी पिउन पाउने अधिकारको हनन भएको छ। मेलम्ची बनाउने ठेक्का लिएको कम्पनी नै घाटामा थियो, उसैलाई केही पैसा थपिदिएर काम लगाउनुपर्नेमा उल्टै भएका चलखेल र षडयन्त्रले समस्या निम्त्याएको छ।

अन्त्यमा के भन्नुहुन्छ ?

यो देश सबैको हो। नेकपाले मेरोमात्र देश हो जस्तो गरेर तानाशाही शासन नगरोस्। सरकारमा बसेका जिम्मेवारले पदीय आचरण अनुसारको व्यवहार गरुन्। विपक्षी नै छैन भन्ने सरकारको पनि बुद्धि पलाओस्। सधैं अधिनायकबाद लाद्न खोज्ने हो भने यो सरकारको पनि आयु छोटो छ। संसदमा भएको टाउको गनेर कसैले सधैं धम्क्याइरहन्छ भने त्यसको पनि बिकल्प हुन्छ भन्ने चेतना पलाओस्।