६ महिनामा तीन लाखले लिए श्रम स्वीकृति

38

काठमाडौं : वैदेशिक रोजगार विभागबाट चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ। साउनदेखि पुससम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।०८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए। अघिल्लो वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए। उनले भने, ‘पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्। यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’ ालू आवको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएई जाने रहेका विभागले जनाएको छ। विभागको तथ्याङ्कअनुसार युएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन्।