Wednesday, September 23, 2026
Home राजनीति संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौँ : प्रधानमन्त्री

संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौँ : प्रधानमन्त्री

69

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन्। आइतबार बिहान तीनदिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए। उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गरे। उनले भने, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ। संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ। अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्नेबित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ। टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोशिस छ। राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु। मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ।’प्रधानमन्त्री दाहालले एक वर्षे उपलब्धि सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गरे।