भक्तपुर । पुस महिना भक्तपुरको मध्यपुर थिमि नगरपालिका खेलकुदमय हुनेछ । पुस ११ गतेदेखि सुरु हुने खेलकुद महोत्सवमा विविध विधा गरेर १२ प्रकारका खेल प्रतियोगिता हुनेछन् । महोत्सवमा पहिलो चरणमा बागमती प्रदेश अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता संचालन हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
राष्ट्रियस्तरको बुद्धिचाल, उपत्यकास्तरीय भलिबल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकर प्रतियोगिता सञ्चालन हुनेछन्।
पहिलोपटक ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख श्रेष्ठले आगामी पुस ११ गतेदेखि महोत्सवको औपचारिक सुरुवात हुने जानकारी दिएका छन्।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार आयोजना हुन लागेको महोत्सवमा राष्ट्रिय, प्रदेश, उपत्यका तथा नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने नगरप्रमुख श्रेष्ठले बताए। महोत्सवका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु हो। पर्याप्त अवसर र प्रशिक्षणको अभावमा क्षमता प्रदर्शन गर्न नपाएका खेलाडीलाई उपयुक्त मञ्च प्रदान गर्दै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माण गर्न महोत्सवले सहयोग पुर्याउने उनले बताए।
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक निर्माण, सामाजिक एकता, अनुशासन र युवा सशक्तीकरणको माध्यम बनाउने नगरपालिकाको लक्ष्य रहेको श्रेष्ठले बताए।
महोत्सवले मध्यपुर थिमिको कला, संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ।
प्रतियोगिताका मुख्य विवरण र पुरस्कार राशि:
टिम दर्ता म्याद: इच्छुक नगरपालिकाहरूले २०८३ पुष ४ गतेभित्र टिम दर्ता गराउनुपर्नेछ।
टिम दर्ता शुल्क: रु. २०,०००।– (वीस हजार)।
टिम संरचना: प्रत्येक नगरपालिकाबाट एउटा मात्र टिम सहभागी हुन पाउनेछ। सुरुमा कम्तीमा १६ जना खेलाडी र अधिकतम २० जना खेलाडी तथा ५ जना अफिसियल गरी जम्मा २५ जनासम्म दर्ता गर्न सकिनेछ। बागमती प्रदेशका सम्बन्धित पालिकामा जन्म भएका वा बसाइँसराइ गरी आएका खेलाडीहरू सहभागी हुन पाउनेछन्।
नियम: खेल फिफा (FIFA) को प्रचलित नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
विजेता पुरस्कार: रु. १०,२५,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
उपविजेता पुरस्कार: रु. ५,००,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर अफ द टुर्नामेन्ट): विद्युतीय स्कुटरसहित ट्रफी, मेडल र प्रमाणपत्र।
फेयर प्ले पुरस्कार: रु. ५०,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
विधागत पुरस्कार: बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र बेस्ट कोचलाई जनही रु. २५,०००।– तथा म्यान अफ द म्याचलाई रु. ५,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।














