Sunday, September 27, 2026
Home शिक्षा लोकसेवामा आवेदन दिने क्रम जारी, विज्ञापन रद्द भएमा पैसा फिर्ता हुने

लोकसेवामा आवेदन दिने क्रम जारी, विज्ञापन रद्द भएमा पैसा फिर्ता हुने

188

जेठ २९,
काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिने क्रम चलिरहेको छ । सरकार र आयोगले रद्द गर्ने निर्णय नगरेकाले आवेदन नरोकिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । मंगलबार मात्रै देशभरबाट झण्डै आठ हजार जनाले विभिन्न पदका लागि आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि अहिलेसम्म झण्डै ८७ हजार जनाले आवेदन दिएका छन् ।

संसदीय समितिले निर्देशन दिए पनि आयोगको बैठकले थप निर्णय नगरेकाले आवेदन प्रक्रिया नरोकिएको सुवेदीले स्पष्ट पार्नुभयो । उहाँका अनुसार यदि विज्ञापन रोक्ने निर्णय भएमा आवेदकले बुझाएको शुल्क फिर्ता हुनेछ । ‘आयोगको बैठकले थप निर्णय नगर्दासम्म आवेदन लिने क्रम चलिरहन्छ, यदि रद्द गर्ने निर्णय भयो भने आवेदकले बुझाएको शुल्क फिर्ता हुन्छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ।

सोमबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म र भावनाअनुरूप विज्ञापन नदेखिएको भन्दै रद्द गर्न निर्देशन दिएको थियो ।
यसबारेको पत्र समितिले सोमबार नै आयोगलाई पठाइसकेको छ । तर आयोगका अध्यक्ष उमेश मैनाली देश बाहिर रहनुभएकाले बैठक बसेर निर्णय गर्न नसकिएको आयोगले जनाएको छ ।

समितिले पठाएको पत्रबारे छलफल भैरहेको र छिटै बैठक बसेर यसबारे निर्णय गर्ने सुवेदीले जानकारी दिनुभयो । ‘बैठकको निर्णयपछि मात्र प्रक्रियाबारे टुंगो लाग्छ, बैठक नबस्दासम्म आवेदन प्रक्रिया रोकिंदैन’ उहाँले भन्नुभयो । समितिले लोकसेवा आयोगसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । तर प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर हुनु भएकाले मन्त्रालयले समेत यसबारे निर्णय लिन सकेको छैन ।

मन्त्रालय र आयोगले समन्वय गरेर यसबारे निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् । यस्तै विज्ञापन रद्द नगर्नेगरी सबैलाई मान्य हुने विकल्प खोज्न पनि सरकार र आयोगलाई दबाब बढेको छ ।