मित्रश्री पाठशालामा विद्यार्थी सम्मान तथा अभिप्रेरणा कार्यक्रम सम्पन्न

2

भक्तपुर । मित्रश्री पाठशालले विद्यार्थी सम्मान, शिक्षक सम्मान तथा अभिप्रेरणा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित पाठशालाद्वारा दुवाकोट सिटि बैक्वेटमा आयोजित SEE तथा BEE 2082 मा GPA 4.00 प्राप्त विद्यालयले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको हो । कार्यक्रममा SEE 2082 मा GPA 4.00 प्राप्त गर्न सफल विद्यार्थी अमिर लामा तथा BEE 2082 मा GPA 4.00 प्राप्त गर्न सफल विद्यार्थी रोज बस्नेत लाई विशेष सम्मान गरिएको थियो। सम्मानस्वरूप अमिर लामालाई रु. ५१,००० तथा रोज बस्नेतलाई रु. ११,००० नगद पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यापन गराउँदै उत्कृष्ट नतिजा हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक–शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा विद्यालयको गौरव बढाउने दिपिका केसी लाई समेत सम्मान गरिएको थियो। उनी भक्तपुर जिल्लाबाट बागमती प्रदेशस्तरीय फुटबल टोलीमा छनोट हुन सफल भएकी हुन्।कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा पोजिटिभ भाइब्रेसन नेपालका प्रमुख कार्यकारी अधिकृत तथा प्रेरणादायी वक्ता प्रीतम पौडेल द्वारा विद्यार्थी तथा अभिभावकहरूका लागि अभिप्रेरणामूलक विशेष सत्र सञ्चालन गरिएको थियो। उनले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, अनुशासन, सकारात्मक सोच, समय व्यवस्थापन तथा निरन्तर प्रयासको महत्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए। साथैअभिभावकहरूलाई बालबालिकाको सिकाइ र व्यक्तित्व विकासमा परिवारको भूमिकाबारे महत्वपूर्ण सुझाव प्रदान गरेका थिए।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष सोमप्रसाद प्रधान , चाँगुनारायण नगर शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दिनेश अर्याल, वडा सदस्यहरू, समाजसेवी, पत्रकार, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले मित्रश्री पाठशालाले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा अतिरिक्त क्रियाकलापमार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गरेको र चागुनारायण तथा भक्तपुर जिल्ललाई नै परिचित गरायको भन्दै प्रशंसा व्यक्त गरेका थिए। विद्यालयले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहने विश्वास समेत व्यक्त गरिएको थियो।

पाठशालाका प्रीन्सिपल दिपक बहादुर बिष्टले विद्यार्थी, शिक्षक, अभिभावक तथा कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, शुभेच्छुक र सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै बिद्यार्थीको सम्पुर्ण बिकासका लागि विद्यालय सधै लागेको बताए । उनले शिक्षा , खेलकुद लगायत अन्य सम्पुर्ण क्षेत्रमा सधै अगाडि रहेको जानकारी गराउदै हाल सम्म अभिभावक र बिद्यार्थीको रुचिमा पर्ने सफल बिधालय आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयको नारा “Be with winners to be a winner” लाई आत्मसात् गर्दै सम्पन्न उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीच सकारात्मक ऊर्जा, प्रेरणा र उत्कृष्टताको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।