ऊर्जामन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट

11

१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँदिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारी लगायत विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युत् सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम लगायत उपस्थित थिए ।