युएई र ओमान नेपाल संग श्रम सम्झौता गर्न सकारात्मक

116

माघ २२,
काठमाडौं – युएई र ओमान नेपालसँग श्रम सम्झौता गर्न सकारात्मक भएका छन्। केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा ओमान र यूएई श्रम सम्झौताका लागि सकारात्मक रहेको धारणा राखेका थिए।

मन्त्रालयले दुवै देशको वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने गरी श्रम सम्झौता गर्न युएई र ओमान तयार रहेको जनाएको छ।
मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको पाँच सदस्यीय टोलीले जनवरी २७ र २८ मा ओमान तथा ३० र ३१ मा युएईसँग वार्ता गरेको थियो।

दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभूति गर्ने, अन्तराष्ट्रिय श्रम संगठन र अन्तराष्ट्रिय आप्रवासन संगठनका स्थापित सिद्धान्त, मूल्यमान्यता एवं मापदण्ड अनुसारको व्यवसायिक श्रमिकको हक हित, व्यवसायिक स्वास्थ्य एवं सुरक्षा र असल कार्यवातावरण सुनिश्चित हुनुपर्ने प्रस्ताव गरेको छ।

नेपालले ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना घटेमा बिदा दिनुपर्ने, महिला कामदारको हकमा विशेष व्यवस्था गर्नु पर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिन्डिकेट हुन नहुने अडान राखेको छन्।
श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुँच हुनुपर्ने लगायतका विषय पनि श्रम समझदारीमै सुनिश्चित गर्नु पर्ने प्रस्ताव गरेको नेपाली टोलीका संयोजक सहसचिव घिमिरेले बताए।

नेपालका प्रस्तावबारे ओमान सकारात्मक रहेको घिमिरेले बताए। कुन–कुन विषय समझदारी पत्रमा राख्ने, के कस्ता विषय रोजगारी करारमा समेट्ने र संयुक्त प्राविधिक समितिको कार्यक्षेत्र र जिम्मेवारी भित्र के कस्ता विषयलाई छाड्ने विषयमा भने दुवै पक्षले आआफ्नो देशका सम्बद्ध निकायसँग समेत समन्वय गरी टुंगोमा पुग्ने भएका छन्।

त्यस्तै यूएईसँगको वार्ता पनि सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ। सन् २००७ मा भएको श्रम समझदारी पश्चात श्रम आप्रवासनको क्षेत्रमा आएका महत्वपूर्ण परिवर्तन आत्मसाथ गरी उक्त समझदारीपत्र गर्न युएई तयार भएको मन्त्रालयले जनाएको छ।

छलफका क्रममा श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप गरी सम्झौतामा पुनरवलोकन गर्न दुवै देश तयार भएका छन्। यूएईले जतिसक्दो चाँडो श्रम समझदारी गर्न तत्परता देखाएको नेपाली भ्रमण टोलीले जानकारी दिएको छ।

कुन–कुन विषय श्रम समझदारीपत्रमा खुलाउने भन्ने विषयमा भने छिट्टै थप छलफल हुने भएको छ। युएईसँग छलफल पश्चात नेपाली टोलीले आफ्नो धारणा लिखित रुपमा नै बुझाएको छ। केही दिनभित्रमा यूएईको तर्फबाट नेपालको प्रस्तावका सम्वन्धमा लिखित रुपमै प्रतिकृया आउने मन्त्रालयले जनाएको छ।-अन्नपूर्ण पोष्ट