टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस-टी नेपालमा

247

काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ । कम्पनीले टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएको हो । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको ५५ किलोवाट क्षमताको मोटरले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। यसमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिङ्गल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ । यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

यो गाडीमा अन्य विभिन्न विशेषताका साथै ईबीडी सहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हर्मनको ८ दशमलव ८९ सेमी कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी आदि विशेषता उपलब्ध छन् । कार र त्यसमा भएको ब्याट्री तथा मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध हुने सिप्रदीले जनाएको छ । ट्याक्सी ड्राइभर र कम्पनीकै इन्जिनियरहरुले एक्सप्रेस-टी को परीक्षण गरिरहेको र आउँदो दिनमा यसलाई कमर्सियल तथा ईभी फ्लिटको रुपमा प्रयोग गर्न सकिने सिप्रदीले जनाएको छ ।