भदौ २६,
काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् । कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।
म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियमा नयाँ कामदार जान पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसियामा सहमति गरेको हो ।
नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । विगतमा ३६ वटा मात्रै मेडिकललाई दिइएको अधिकार तोड्ने गरी नयाँ सूचीकरण भएको हो । सहमतिअनुसार अब यी संस्थाहरुमा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरसम्म नयाँ संस्थालाई स्वीकृति प्रदान गर्नुपर्ने छ । तत्कालका लागि भने ३६ पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गर्ने अवस्था देखिएको छ ।