Thursday, October 1, 2026
Home अर्थ सिजनमा सुन अभाव

सिजनमा सुन अभाव

28

काठमाडौँ । असोज, कात्तिक र मंसिर महिना सुनचाँदी कारोबारका लागि मुख्य सिजन मानिन्छ । यी तीन महिनामा दसैं, तिहार, छठजस्ता पर्व पर्ने र बिहेको सिजन समेत सुरु हुने भएकाले गरगहनाका अर्डर आउने मुख्य सिजन रहेको व्यवसायी बताउँछन् । तर यहीं बेला बजारमा भने सुन अभाव रहेको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले हाल तोकिएको दैनिक १० केजीको कोटाले माग नधान्ने बताए । हाल सुनको माग दैनिक २५ किलो हाराहारी रहेकाे उनले बताए ।

‘दसैं, तिहार र बिहेको सिजनमा सुनको माग दैनिक २५/३० केजीसम्म हुन्छ, तर आपूर्तिको अवस्था हेर्दा एकदम न्यून छ,’ सोमानीले भने, ‘हालको दैनिक १० किलो कोटाले माग धान्दैन, व्यवसायीहरु धेरै मारमा परे ।’ मंसिर अर्थात बिहेको सिजन सुरु हुँदा केही दिन माग बढेर ४० किलोसम्म पुग्ने उनले बताए । राष्ट्र बैंकले भने दैनिक आपूर्ति कोटा १० किलो मात्रै निर्धारण गरेको छ । जसले गर्दा बजारमा अभाव सुन भएको व्यवसायी बताउँछन् । उपभोक्ताबाट फिर्ता आएको गहनाबाट पनि अहिले केही माग धानिएको उनले बताए ।