ग्लोबल बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिने सम्झौता

57

काठमाडाैं : नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन्। दुई बैंकबीच एकापसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै रु ५२ अर्ब कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ। यसअघि ग्लोबल आइएमई बैंकमा बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृतका रूपमा छन्।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्व हाललाई एक अनुपात एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ। कूल २१ बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित भएको इतिहाससमेत बन्नेछ। मर्जरपश्चात बैंकको कूल पूँजी रु ५२ अर्ब २९ करोड बराबर हुनेछ । चुक्ता पूँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा समेत स्थापित हुनेछ।