प्रचण्डले तोडे नेकपाको एकता : ओली

22

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेकपाको एकता तोडेको आरोप लगाएका छन् । बिहीबार झापा क्षेत्र नम्बर ४, सिबगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकठाँउमा बस्ने नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।

पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैसँग लगेको उनको भनाई छ । उनले माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क गरे ।  

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गरे । त्यस्तै ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गरे ।

ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकोले एमाले सरकारले समृद्ध बनाउने दाबी गरे । यसपटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।