एसइईमा जापानबाट १९ जना नेपाली विद्यार्थी सहभागी

127
फाइल तस्विर

बैशाख ११,
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ जापानबाट समेत १९ जना नेपाली विद्यार्थी सहभागी छन्। जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन्। सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ। उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो। त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ भने विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्ड मातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यही वैशाख ९ गतेदेखि शुरु भएको यो परीक्षामा ललितपुरबाट पाँचजना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन्।

अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यो वर्ष भौतिक उपस्थितिमा केन्द्रस्तरबाट परीक्षा सञ्चालन भएको हो। पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन्। परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र रहेका छन्। परीक्षामा ग्रेडवृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारतर्फ १४ हजार ५६४ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ।