रंगशाला रुङ्दै मन्त्री

246

कान्तिपुर दैनिक
कार्तिक २३, काठमाडौँ — मन्त्री जगतबहादुर विश्वकर्मा घण्टा–घण्टाको हिसाब गरेर दशरथ रंगशाला निर्माणको काममा निगरानी गर्दैछन् । अबको २–३ दिनमा सम्पूर्ण तयारीले ठोस परिणामको आकार लिने उनको दाबी छ । मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०–११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष निगरानी गर्नु ।

नेपालमा हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलकुद मेला हो– दक्षिण एसियाली खेलकुद ९साग० । सागको १३ औं संस्करण मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुँदै छ । बिडम्बना त्यसका लागि अहिलेसम्म भौतिक पूर्वाधार निर्माण पूरा भएको छैन । प्रतियोगिताको उद्घाटन र समापनसहितको मुख्य खेलस्थल दशरथ रंगशाला नै तयार हुनसकेको छैन । निर्धारित समयमै प्रतियोगिता गर्नुपर्ने बाध्यात्मक अवस्थाबीच पछिल्लो केही सातादेखि रंगशाला बनाउने कामले उल्लेख्य गति लिएको छ । त्यसमा एउटै कारण हो, निर्माणस्थलमा खेलकुद मन्त्रीको ‘धर्ना’ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३ औं साग आयोजनाको मिति दुई पटक सरेर मंसिरका लागि तय भएको हो । यसपालि पनि निर्धारित समयमै प्रतियोगिता आयोजनाप्रति ढुक्क नभएपछि युवा तथा खेलकुदमन्त्री विश्वकर्मा आफैं निर्माणस्थलमा खटिएका हुन् । सरकारको बहालवाला मन्त्रीबाटै प्रत्यक्ष निगरानी भएपछि ठेकेदार कम्पनीलाई दबाबमात्र भएको छैन, उसले स्रोतसाधनको आपूर्ति पनि सहज रूपमा पाएको छ । साग आयोजनाका लागि २२ दिनको समय बाँकी छँदा अहिले दशरथ रंगशाला तयार गर्न सय बढी कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् ।