मन्त्रीको स्वार्थ पूरा नहुँदा बिपीको सिनेट बैठक स्थगित

138

नागरिक दैनिक
कार्तिक २३, काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको छ। मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार (कात्तिक २२) का लागि बोलाइएको थियो। बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए। तर मन्त्री यादवले सिनेट बैठक अघि आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन (विश्वनाथ) यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाललाई दबाब दिएका थिए। खनालले यो विषयमा कुलपति तथा प्रधानमन्त्रीसँग सल्लाह लिने जवाफ दिएपछि मन्त्री यादवले आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक अचानक स्थगित गरेका हुन्। प्रतिष्ठानमा २३ जना सिनेट सदस्यहरू छन्।

बिपी प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ। केही महिनाअघि मन्त्री यादवकै सिफारिसमा डाक्टर बिएन यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। बिपी प्रतिष्ठानकै चिकित्सक डाक्टर यादव काजमा राप्ती प्रतिष्ठान गएका हुन्। राप्ती प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीसँग तीव्र मतभेद र विवाद भएपछि हिजोआज डाक्टर यादव बिपी प्रतिष्ठानमा नै छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्।
स्रोतका अनुसार डाक्टर यादवकी छोरी ज्योत्सना र मन्त्री यादवका छोरा डाक्टर अमरेन्द्र यादवबीच प्रेम सम्बन्ध छ र उनीहरूको विवाह हुने तयारी पनि छ। मन्त्री यादवका छोरा अमरेन्द्र, रेक्टर यादवकी छोरी ज्योत्सना र रेक्टर यादव करिब चार महिना पहिला चीन भ्रमणमा समेत गएको स्रोतको भनाइ छ। अमरेन्द्र मन्त्री यादवका स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन्। ‘झन्डै एक महिनाअघिदेखि सिनेटको तयारी थियो। महŒवपूर्ण निर्णयहरू हुने र प्रतिष्ठानले नयाँ तरिकाबाट अघि बढ्छ कि भन्ने आशा थियो,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘तर स्वास्थ्यमन्त्रीको स्वार्थले गर्दा सिनेट नै स्थगित भयो।’

प्रतिष्ठानको सर्वोच्च निकाय सिनेट हो। प्रतिष्ठानको सम्पूर्ण नीतिगत निर्णय, बजेट तयारी र अनुमोदन, योजनाहरू स्वीकृतिलगायत सबै काम सिनेट बैठकबाट नै हुने गर्छ। लामो समय द्वन्द्व र अस्थिरताबाट गुज्रिएको प्रतिष्ठानलाई यो ४३ औं सिनेट बैठकले निकास दिने र अवरुद्ध महत्वपूर्ण योजनाहरू अघि बढ्ने अपेक्षा गरिएको थियो।