‘इन्डोप्यासिफिक’बारे सरकारलाई अमेरिकी दूतावासले स्पष्टिकरण सोधेको हो ?’- पम्फा भुसाल

240

भदौ २६,
काठमाडौं । सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री पम्फा भुसालले नाटो स्तरको इण्डो प्यासेफिकको नाममा अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीच हुन लागेको संयुक्त अभ्यास रोक्न सरकारसँग माग गरेकी छन् । उनले नेपाल एक चीन नीतिको पक्षमा भएको र चर्चामा रहेको इन्डा प्यासेफिक संयन्त्रबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे सरकारसँग जवाफ मागिन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेत्री भुसालले यसअघि स्थगित सैन्य प्रशिक्षण नयाँ मितिमा गर्न अमेरिकी दूतावासले पत्र पठाएकोबारे सरकारको जवाफ माग गरेकी हुन् ।

‘पूर्व प्रधामनमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डा प्यासेफिक रणनीतिबारे बोलेको विषयलाई लिएर अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे नेपाल सरकारले भन्न जरुरी छ,’ भुसालले भनिन्, ‘अगस्त महिनामा अमेरिकन दूतावासले नेपाल सरकारलाई एउटा चिठी लेखर नोभेम्बर ४ मा नेपालको सशस्त्र प्रहरीसँग सैन्य प्रशिक्षण गर्न पत्राचार गरेको छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा संलग्न छ । नाटोको स्तरको इण्डो प्यासेफिकमा प्रशिक्षण नगरियोस् भनेर आग्रह गर्न चाहन्छु ।’

चीन र अमेरिकाबीच व्यापारिक विवाद चर्केको समयमा, कुनै एउटा एलाइन्समा नेपाल लाग्न नहुने उनले बताइन् । ‘त्यो प्रकारको पत्रबारे जानकारी गराओस् । एण्डो प्यासेफिक एलाइन्समार्फत पनि अमेरिकी सेनासँग संयुक्त अभ्यास नहोस् । असंलग्न परराष्ट्र नीतिमा अडिग रहेर यो प्रकारको तालिम कार्यक्रम नराखियोस्,’ भुसालले भनिन् ।