काठमाडौं महानगरले विषादी जाँच्‍ने मेसिन ल्याउँदै

67

साउन ५,
काठमाडौ । काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ। महानगरपालिकाको पाँचौ नगर अधिवेशनको चौथो पटक बसेको बैठकले १५ अर्ब, ५० करोड, ७० लाख, १२ हजार रुपैयाँको बजेट पनि पारित गरेको छ। बैठकले विषादी परीक्षण गर्ने अत्याधुनिक मेसिन खरिद गर्ने निर्णय गरेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए।

‘विषादी प्रयोग नभएको तरकारी तथा फलफूल मात्र वितरण गर्न नियमितरुपमा गुणस्तर परीक्षण गरिनेछु, उनले भने, ‘यसका लागि अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान सञ्चालनमा ल्याइनेछ। जसले वस्तुको गुणस्तर मापदण्ड अनुसार भए वा नभएको थाहा हुनेछ।’ यसैगरी महानगरपालिकाले गुणस्तरीय बधशाला निर्माणको योजना पनि अघि ल्याएको छ। निजी क्षेत्रसँग सहकार्य गरी उक्त बधशाला निर्माण गरिने भएको छ। महानगरपालिका भित्र सामुदायिक पशुहरुको समेत लगत राख्‍ने र बन्ध्याकरणको कार्यक्रमलाई अघि बढाइने प्रवक्ता डंगोलले बताए। ‘महानगरका सामुदायिक कुकुरलाई खोप लगाइनेछ। कुकुरलाई बन्ध्याकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछु, उनले भने, ‘सामुदायिक कुकुरलाई चिप्स लगाएर अनुगमन गर्ने छौँ।’