अव यी चार वस्तुलाई पनि गुणस्तर चिन्ह अनिवार्य

340

असार ८,
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वस्तुलाई ‘नेपाल गुणस्तर चिन्ह’ अनिवार्य गर्ने भएको छ। ग्याल्मानाइज्ड आइरन सिट (जस्तापाता), हेल्मेट, मल्टि स्ट्याण्ड केबल हाउस वाइरिङ तार, र एलपी ग्यासमा प्रयोग हुने रवर होज पाइपलाई एनएस चिन्ह अनिवार्य गराउने भएको हो। दैनिक जिवनमा यसको प्रयोग अत्यन्त बढेकोले यसलाई गुणस्तरीय र व्यवस्थित बनाउन एनएस चिन्ह अनिवार्य गराउन लागेको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताए। ‘दैनिक जिवनमा यसको प्रयोग बढ्दै गएको छ। प्रयोगकर्ताको सुरक्षाका लागि एनएस चिन्ह अनिवार्य गर्न लागेको छौँ’, उनले भने।

२०४२ सालको मापदण्डलाई अहिलेको समय अनुसार परिवर्तन गरिएको विभागले जनाएको छ। पहिला जस्तापाता सामान्य घर छाउन मात्र प्रयोग हुन्थ्यो भने अहिले स्थायी, अस्थायी र दीर्घकालिन रुपमा लागि प्रयोग हुने भएकोले यसलाई अनिवार्य गरिएको उनी बताउँछन्। बजारमा पाइने अनेक थरिका ग्याँस पाइपहरु मुसाले खाने, ग्यास पड्किने लगायतका समस्या आएकोले ग्यास पाइपलाई पनि एनएस चिन्ह अनिवार्य गर्नुपर्ने भएको उनले बताए। विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। त्यसैको आधारमा हेल्मेटलाई एनएसचिन्ह दिइने छ। त्यस्तै गुणस्तरीय तारको प्रयोगले विद्युत खपत कम हुने विभागले बताएको छ।

विभागका अनुसार असार मसान्त सम्ममा यी वस्तुलाई एनएस चिन्ह अनिवार्य गराइने छ। यस अघि विभागले १२ वटा वस्तुमा एनएस चिन्ह अनिवार्य गराएको छ।