Sunday, September 27, 2026
Home अर्थ मुलुकको पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा, अर्थमन्त्रीले गरे उद्घाटन

मुलुकको पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा, अर्थमन्त्रीले गरे उद्घाटन

122

फाल्गुन २२,
काठमाडौँ — मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो बैंक सञ्चालनमा आएको हो । बुधबार अर्थमन्त्री युवराज खतिवडाले बैंकको शुभारम्भ गरेका हुन् । आर्थिक समृद्धिकालागि मुलुकमा ठूलो लगानी आवश्यक भएको समयमा पूर्वाधार विकास बैंक सञ्चालनमा आएकाले यो बैंकले पूर्वाधार निर्माणमा परिपुरकको भूमिका निर्वाह गर्नु पर्ने अर्थमन्त्री खतिवडाले बताए। ‘खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्‍यो,’ उनले भने, ‘एनआरएन र विदेशी लगानीकर्ताको लगानी भित्र्याउन पनि पहल गरोस।’

कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले पूर्वाधार विकास बैंकको स्थापनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। ‘पूर्वाधार विकासमा यो बैंक कोशेढुङगाको रुपमा सावित हुनेछ,’ उनले भने । पूर्वाधार विकासमा आवश्यक पूँजी जुटाउन बैंकले विशेष रणनीति बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बताए। ‘कृषि, जलविद्युत, पर्यटन, यातायातलगायत ठूला पूर्वाधार विकासमा हाम्रो लगानी केन्द्रित हुनेछ,’ उनले भने। सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा वाणिज्य बैंक, बिमा कम्पनी र सर्वसाधारणको लगानी छ। ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ।