नेपाल–बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता

87

फागुन २१,
काठमाडौँ -नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौंता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै देशको मन्त्रीपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

सो सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पती सोही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ । एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन । यसबाट दुवै मुलुकलाई फाईदा पुग्ने राजस्व सचिव घिमिरले बताए । उनले दुवै मुलुकबाट लगानीका लागि वातावरण बनाउन पनि सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई सो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ । बंगलादेशसँग दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो । नेपालले सो सम्झौता भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाईल्याण्डमा यस अघि नै गरिसकेको छ । जापान, अमेरिका, सिंगापुर लगायतका मुलुकमा पनि सो सम्बन्धि दुई पक्षीय सम्झौता गर्ने विषयमा छलफल भइरहेको राजस्व सचिव घिमिरेले बताए ।