म्याग्दीका किसान अनलाइनबाटै बोयर बाख्रा बिक्री गर्दै

286

जेठ २३,
म्याग्दी । करिब साढे दुई महिना लामो लकडाउनका कारण व्यापार व्यावसाय चौपट भैरहेको अवस्थामा म्याग्दीका एक किसानले बोयर जातको बोकाको अनलाइन व्यापारबाट आम्दानी गर्दै आएका छन्। बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीसले सञ्चालन गरेको श्रीस बाख्रा फर्ममा बोयर जातका बोका खरिद गर्नका लागि यातायातको पास लिएर चितवनबाट समेत ग्राहकहरु आएका छन्। लकडाउनको समयमा चितवनबाट म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली आएका वुद्धि तामाङले डेढ लाख रुपैयाँमा बोयर जातको एउटा बोका खरिद गरे। त्यस्तै, धनकुटामा व्यावसायिक बाख्रापालन गर्दै आएका एक किसानले दुईवटा बोयर बुकिङ गरिसकेको श्रीसले बताए। बोयर जातका बाख्रा पालनमा सक्रिय रहेका श्रीसले लकडाउनकै बेला धमाधम जिल्लाबाहिर बोयरको पाठापाठी बिक्री गरिरहेका छन्। ‘लकडाउनका कारण बुकिङ गरेका बोयर खोरमै छन्, केहीले पैसा पठाइसक्नुभएको छ,’ श्रीसले भने। देशका विभिन्न जिल्लाबाट अनलाइन बुकिङ गरेर सवारीसाधन मै गाउँमा पुग्न थालेपछि बिक्रीको समस्या नभएको उनको भनाइ छ। एउटै बोकालाई साढे दुई लाख रुपैयाँसम्म बिक्री गरेका श्रीषले अहिलेसम्म करिब २० लाखको कारोबार गरेको बताए। -थाहा खबरबाट