अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा

56

फागुन २१
बेइजिङ -संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित विषयमा भने सहमति भइसकेको बताएको छ ।

दुई देशबीच जारी व्यापार युद्धलाई अन्त्य गर्नेगरी भएको वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वास व्यक्त गरेको भोलिपल्ट चीनको यस्तो भनाई आएको हो । राष्ट्रपति ट्रम्पले नयाँ व्यापार सम्झौतामा चिनीया राष्ट्रपतिसँग चाँडै हस्ताक्षर गर्न लागेको पनि बताउनुभएको छ । चिनीया व्यापार मध्यस्थकर्ता एवं उपप्रधानमन्त्री लिउ हे वासिङ्टनमा व्यापार वार्ता गरी गत साता बेइजिङ फर्किनु भएको छ । वाणिज्य मन्त्री झोङ शानले उपप्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भन्नुभयो, “वासिङ्टनको वार्ता प्रक्रिया अत्यन्त कठिन र थकानयुक्त रहेको छ ।”

मन्त्री झोङले छलफलका विषयहरु निकै महत्वका रहेकामा जोड दिँदै चीनको वार्ता टोलीले दिन, रात काम गर्नु परेको जानकारी दिनुभयो । “दुई दिनका लागि पूर्व निर्धारित छलफल अरु दुई दिन थपियो । यो द्विपक्षीय छलफल निकै प्रभावकारी थियो । करिब ९० दिनदेखि चलिरहेको यो व्यापार छलफलबाट महत्वपूर्ण नतिजा निस्कने अपेक्षा गरिएको छ ।”

“अहिले पनि दुबै मुलुकबीच वार्ता जारी छ किनभने अझै पनि धेरै काम गर्न बाँकी छ,” मन्त्री झोङले बताउनुभयो । उहाँले कुनै सम्झौतामा पुग्नका लागि दुबै पक्षले निकै होसियारीपूर्वक मिलेर कार्य गर्नुपर्ने खाँचो छ भन्नुभयो । चीनको बैंकिङ नियामक आयोगका प्रमुखले छ वटा क्षेत्रमा महत्वपूर्ण सहमति भएको बताउनुभएको छ । आयोगको भनाईलाई उद्धृत गर्दै स्थानीय वेभसाइट “दी पेपर” प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, गैरकर अबरोध, कृषि, सेवा र परिवत्र्य दरमा दुई देशबीच सहमति भइसकेको जनाएको छ ।

“यो प्रक्रिया निकै महत्वको छ । मेरा विचारमा यसमा थप व्याख्या गरिनेछ, र यसमा मलाई कुनै शंका छैन,” गुओ शुकिङले बताउनुभयो ।-रासस/एएफपी