Sunday, September 27, 2026
Home समाचार सुत्केरीलाई घर निकाला

सुत्केरीलाई घर निकाला

194

दाङ । दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताए । तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेको बताइएको छ ।

‘तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महीनाबाटै पिट्न शुरु गरे,’ पीडित दुर्गाले भने, ‘गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।’ सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताए । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् । केही दिनपहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका थिए । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फकाई दिएको पीडितले बताए । घोराहीमा पत्रकारसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारलाई आग्रह गरेका छन् ।
रासस