माघ ३,
चितवन । चितवनको रत्ननगरस्थित सौराहामा हालै सम्पन्न चितवन हात्ती महोत्सवमा रु तीन लाख नाफा भएको छ ।
क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १५ गतेसम्म चलेको १४औँ चितवन हात्ती महोत्सवको मंगलबार आयव्यय सर्वजनिक गर्दै संघले रु तीन लाख तीन हजार ८४५ नाफा भएको जनाएको छ । चितवनको सौराहामा संघको मंगलबार भएको सोह्रौँ वार्षिक साधारणसभाका क्रममा सहकोषाध्यक्ष गंगा गिरीले हात्ती महोत्सवमा कूल रु ३८ लाख ७८ हजार ७०० आम्दानी भएको र रु ३५ लाख ७४ हजार ८५५ खर्च भएको जानकारी दिए । सो क्रममा क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले यो वर्ष चितवनको पर्यटन विकासका लागि छिमेकी जिल्लासहित भारतमा समेत प्रचार अभियान सञ्चालन गरिने बताए ।
चितवनको सौराहामा सुविधायुक्त ११० होटल छन् भने करिब ६० वटा रेस्टुरेन्ट छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । चितवनमा वार्षिक करिब दुई लाख पर्यटक आउने तथ्यांक छ ।