श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

261

१८ पुस, रासस
डोल्पा – आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् ।
काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बिहे गरेको तीन वर्षभित्र थुप्रै पटक कुटपिट गरे भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक पटक दुवैजनालाई मिलाउँदै आएका थिए ।
यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् ।
उनी आफ्नो घरदेखि छ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् ।
यो पटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ । अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिएका छन् ।