प्रेस काउन्सिल विरुद्ध साना लगानीका पत्रपत्रिकाहरु आन्दोलित

253

पुस १९ ।
काठमाडौ । प्रेस काउन्सिलको वर्गीकरण नतिजा गैरजिम्मेवारीपूर्ण भन्दै साना लगानीका पत्रपत्रिकाहरु आन्दोलित भएका छन् । वर्गीकरण विरुद्ध दैनिक पत्रिका राष्ट्रिय सञ्जालको केन्द्रीय समितिको बैठकले पनि प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को वर्गीकरणको नतिजा अत्यन्तै गैरजिम्मेवारीपूर्ण भएको भन्दै वर्गीकरणको नतिजा जलाउँदै आन्दोलनमा जाने घोषणा गरीएको संजालका अध्यक्ष जेपि गुप्ताले बताए । सञ्जालको बैठकले प्रेस काउन्सिलमा रहेका पदाधिकारीहरुको तत्काल राजीनामा माग गर्दै काउन्सिलमा रहेका केही कर्मचारीहरुले अवैध तवरबाट कमाएको सम्पत्तिको छानबिन गर्न पनि सरकारसँग माग गरेको वर्गीकरण विरुद्ध संघर्ष समितिका सह संयोजक भरत लामिछानेले जानकारी दिए । यसअघि सञ्जालको बैठकले जयप्रकाश गुप्ताको संयोजकत्वमा ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध आन्दोलन संघर्ष समिति’ पनि गठन गरेको छ । सञ्जालको बैठकले वर्गीकरणको नतिजा नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । विज्ञप्ति जारी गर्दै अवैज्ञानिक, प्रतिशोध तरिकाबाट गरिएको भेदभावपूर्ण वर्गीकरणप्रति सञ्जालले खेद प्रस्ताव पारित गर्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।