Thursday, September 24, 2026
Home पत्रपत्रिका ‘कलेजोको तुलना उपहारसँग हुन सक्दैन’

‘कलेजोको तुलना उपहारसँग हुन सक्दैन’

155

नागरिक दैनिक
कार्तिक ९, काठमाडौं – कलेजो काम नलाग्ने भएपछि भक्तपुर सूर्यविनायकका बलराम नागा जीवनमरणको दोसाँधमा परे। काम नलाग्ने कलेजोको ठाउँमा २०७३ मंसिर २२ गते दिदी सानुमैया लागेजुको कलेजोको केही भाग सफल प्रत्यारोपण गरेसँगै बलरामले नयाँ जीवन पाए। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कोरियाली विशेषज्ञको सहयोगमा नेपाली चिकित्सक टोलीले कलेजो प्रत्यारोपण गरेको थियो। अहिले बलराम र सानुमैया दुवै स्वस्थ छन्। आउँदै गरेको तिहारको उमंगमा अरुजस्तै यी दिदीभाइ पनि निकै रमाएका छन्। परिवारका सदस्यका मृत्युका कारण विगत तीन वर्षदेखि टीका लगाउन नपाएका उनीहरूले कलेजो प्रत्यारोपणपछि पहिलोपटक तिहार मनाउन पाउने भएका छन्। कलेजो दिएर जीवन बचाएका भाइका निधारमा टीका लगाउँदै मखमली माला लगाइदिने कुराले मात्र पनि सानुमैया फुरुंग छिन्।
०००

२०७२ वैशाख १२ गते भक्तपुरको दत्तात्रयमा रहेको मको गलीस्थित पाँचतले पुख्र्यौली घरको तेस्रो तलामा शान्ति छुस्याबाग टिभी हेर्देै थिइन्। अचानक भूकम्प आयो र घर भत्कन थाल्यो। उनी भागेर दोस्रो तलामा ओर्लिन्। त्यसपछि पहिलो तला भासियो। उनी भुइँतलामा खसिन्, माटोले पुरिइन्।
भूकम्पको समयमा परिवारका १२ सदस्य घरमै थिए। उनको भाइ प्रज्वल भने बाहिर थिए। प्रज्वल काका र गाउँलेको सहयोगमा उद्धारमा जुटे। झन्डै चार घन्टाको प्रयासपछि बा–आमाको उद्धार गरे। तर दिदीको अत्तोपत्तो थिएन। उनका दुई काकी र काकाको एक छोराको मृत्यु भयो। दिदी नभेटिँदा उनी उदास बने।

जब साँझ प-यो, शान्तिको आवाज उनकी बहिनी अञ्जनाले सुनिन्, भाइलाई बताइन्। काकाको विशेष सहयोगले भग्नावशेषमा सुरुङ खन्दै उनले रातको ११ बजे दिदीलाई उद्धार गरेर अस्पताल पु(याए। ११ घन्टासम्म अँध्यारोमा पुरिएकी दिदीलाई नयाँ जीवन उपहार दिए। शान्ति र प्रज्वललाई पनि तिहारले छोएको छ। शान्ति माला र मसलाको तयारीमा छिन्। प्रज्वल उपहारको जोहो गर्दैछन्।