जग्गा खेलकुदको, रजाइँ अरुको

72

अन्नपूर्ण पोष्ट- मंसिर ६,
जनकपुरधाम । जनकपुरमा खेलकुदले उपभोग गरिरहेको १० बिघाभन्दा बढी जग्गा राखेपको नाममा दर्ता हुन सकेको छैन। खेलकुदका लागि छुट्याइएको जग्गा व्यक्ति र संघ–संस्थाले अतिक्रमण गर्ने क्रम समेत बढ्दै गएको छ। २०४१ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रले जनकपुरको पिडारीमा नेपालकै ठूलो कर्भडहल उद्घाटन गरेका थिए। त्यसपछि जनकपुर अञ्चल खेलकुद विकास समितिले कुमार खड्ग विक्रम शाहको नाउँमा दर्ता रहेको छ बिघा १७ कठ्ठा जग्गा ४० हजार रूपैयाँ प्रतिकठ्ठाको दरले किन्ने निर्णय गरेको थियो। जग्गा किन्दा राखेपले ५०, जनकपुर चुरोट कारखाना लिमिटेडले २५ र जनकपुर नगरपञ्चायतले २४ प्रतिशत खर्च बेहोर्ने निर्णय भएको थियो। रकम प्राप्त भएपछि उक्त जग्गा तात्कालीन जनकपुर अञ्चल खेलकुद विकास समितिको नाममा हक हस्तान्तरण गर्ने करारनामा पनि भएको थियो। कुमार खड्गविक्रम शाह र तात्कालीन अञ्चलाधीश नवराज गुरुङले करारनामामा हस्ताक्षर गरेका थिए।

यस्तो निर्णयपछि राखेपले बेहोर्ने भनिएको ५० प्रतिशतमध्ये पाँच प्रतिशत अर्थात् दुई लाख ७४ हजार छ सय रूपैयाँ कुमार खड्गविक्रम शाहलाई पेस्की दिइएको थियो। तर जनकपुर चुरोट कारखाना र जनकपुर नगरपालिकाले दिन्छु भनेको रकम दिएनन्। करारअनुसार प्रतिकठ्ठा ४० हजारका दरले जम्मा ४८ लाख सात हजार रूपैयाँ भुक्तानी हुनु पर्ने थियो। तर त्यो रकम भुक्तानी भएन। त्यसैले त्यो जग्गा अझै पनि राखेपको नाममा हस्तातरण हुन सकेको छैन। खड्गविक्रमका छोरा दिवशविक्रम शाहले बाँकी रकम माग्दै राखेपलाई ताकेता समेत गरेका थिए।

राखेपले ०५९ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयलाई रकम निकासा गर्न पत्र पठाएको थियो। पत्रमा ०५९ सालसम्म आइपुग्दा जग्गाको मूल्यमा निकै ठूलो अन्तर आइसकेको उल्लेख गरिएको छ। प्रतिकठ्ठा दुई लाख ५० हजारका दरले दुई करोड पाँच लाख ३१ हजार रूपैयाँ पनि पत्रमा मागिएको छ।