युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

174

तेजराज भट्ट (नयाँ पत्रिका दैनिक)
जेठ १, बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् ।

युवाको आपत्ति

रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नुको साटो विदेश पठाउन प्रोत्साहन गर्नु दुःखद भएको भन्दै युवाका पक्षमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले भने आपत्ति जनाएका छन् । ‘श्रम गर्न सक्ने सबै विदेश गए समृद्धि कसरी हासिल हुन्छ ?’ युवा शान्ति परिषद् कैलालीका संयोजक प्रेम ढुंगानाले भने, ‘रेमिट्यान्सले मात्र देश चल्न सक्दैन, त्यसैले युवाहरूको श्रम देश विकासमा लगाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’