नक्कली भुटानी शरणार्थी प्रकरण : एक पूर्वमन्त्री फरार, अर्का तानिए

87

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए ।

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् । बुधबार जडीबुटीरपेप्सिकोला क्षेत्रबाट पक्राउ परेका सचिव पाण्डेको मोबाइल तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पाण्डेको मोबाइल ‘फर्म्याट’ गरेर खाली बनाएको भेटिएको छ । त्यसलाई प्रयोगशाला पठाएर विवरण ‘रिकभर’ गर्न लागिएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार सचिव पाण्डेको मोबाइल विवरण तत्काल नभेटिए पनि पक्राउ परेका अन्य केही आरोपितका मोबाइलबाट यो गिरोहमा पाण्डे पनि सामेल भएको विवरण भेटिएको छ । यो विवरणअनुसार पाण्डे गिरोहसँग निरन्तर सम्पर्कमा थिए । ‘उनीहरूबीच फोन र म्यासेज आदानप्रदान भएको देखिन्छ, कुराकानी नक्कली शरणार्थी बनाउने विषयमा केन्द्रित छ,’ अनुसन्धानमा रहेका एक प्रहरीको भनाइ छ ।

२०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । कहिले शरणार्थी समस्याको कुरामा, कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भने । तर, यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ । यता, प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए । ‘पक्राउ पुर्जी काटेर आफ्नो बेइज्जत गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको थियो, तर आफ्नो जे भनाइ छ अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयमै गएर राख्न भनेर उहाँलाई सुझाव दिइएको छ,’ प्रहरीका एक अधिकारीले भने ।

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गएभन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।