सुदूरपश्चिमको विकास बजेट पार्टी कार्यालय निर्माणमा

61

५ वर्षको भागबन्डा : एकीकृत समाजवादीलाई ४ करोड ५ लाख, एमालेलाई ३ करोड ६५ लाख, माओवादीलाई २ करोड १७ लाख र कांग्रेसलाई ९५ लाख
‘सामुदायिक भवनभन्दा बरू खानेपानीको धारा बनाइदिएको भए काम लाग्ने थियो, हाम्रा दुःख कोही हेर्दैनन्’

-अर्जुन शाह, वसन्तप्रताप सिंह

धनगढी, बझाङ — गरिब घरपरिवार पहिचानसम्बन्धी सरकारी तथ्यांकमा सुदूरपश्चिमका धेरैजसो जिल्ला अति गरिबीको सूचीमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्वेक्षणअनुसार बाजुरा देशकै सबैभन्दा बढी गरिब परिवार बसोबास भएको जिल्लामा पर्छ । यहाँका आधारभूत समस्या सम्बोधन गर्नुपर्ने दायित्व बोकेको प्रदेश सरकारले भने प्राथमिकतालाई उपेक्षा गर्दै पूर्वाधार निर्माणका नाममा सामुदायिक भवन, पार्टी कार्यालय, मठमन्दिर, भ्यु टावरलगायतका अनुत्पादक क्षेत्रमा अर्बौं बजेट खन्याएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चार वर्षमा ३ सय ३२ सामुदायिक भवन निर्माणका नाममा मात्रै ५१ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । आगामी वर्षको बजेटमा ३ सय ७८ वटा सामुदायिक भवनका लागि ६४ करोड ६४ लाख विनियोजन गरिएको छ । स्थानीय आवश्यकताभन्दा पनि कार्यकर्ताका पहुँचमा बजेट पाएका अधिकांश सामुदायिक भवन प्रयोगविहीन छन् । कतिपय भवन टालटुले निर्माणका कारण भत्किसकेका छन् तर स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्र भने प्रदेश सरकारको प्राथमिकतामा देखिँदैन । पूर्वाधार अभावका कारण यहाँको स्वास्थ्यसम्बन्धी अधिकांश सूचक दयनीय छ । तर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९र८० को बजेटमा स्वास्थ्य पूर्वाधार निर्माणका १५ योजनामा ४१ करोड बजेट छुट्याएको छ ।

बझाङको थलारा गाउँपालिका–१ मा सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्था छैन । गर्भवतीलाई व्यथाले च्याप्यो भने बोकेर चार घण्टा टाढा लैजानुपर्ने बाध्यता छ । यही वडामा प्रदेश सरकारको बजेटबाट पाँचवटा सामुदायिक भवन बनाइएको छ । चुथी, रेगम, थापागाउँ, पीपलकोट र मोतीपुरमा निर्माण भएका ती सामुदायिक भवन प्रयोगमा छैनन् । ‘यी भवन वर्षमा एक–दुई पटक मात्रै खुल्छन्,’ स्थानीय चक्रप्रसाद जोशीले भने, ‘कहिलेकाहीं बैठक भयो, कसैको विवाह भयो भने खोलिन्छ । नभए त साझा भवनको काम नै के छ र रु’ उनले कुनै भवन एक दिन पनि प्रयोगमा नआएको बताए ।

सुरक्षित सुत्केरी गराउन छिमेकी केदारस्यु गाउँपालिकाको देउरा प्राथमिक स्वास्थ्य केन्द्र वा छिमेकी वडा २ को दंगाजी स्वास्थ्य चौकीमा लैजानुपर्दा ज्यान जोखिममा पर्ने गरेको स्थानीय कलावती जोशीले सुनाइन् । ‘गाउँमै बर्थिङ सेन्टर भइदिए त दिदीबहिनीले सुविधा पाउने थिए,’ उनले भनिन् । निवर्तमान वडाध्यक्ष धर्मराज भट्टले वडामा भवन अभावका कारण बर्थिङ सेन्टर स्थापना हुन नसकेको प्रतिक्रिया दिए । ‘बर्थिङ सेन्टर स्थापनाका लागि भवन हुनुपर्ने रहेछ,’ उनले भने, ‘यहाँ बर्थिङ सेन्टर जरुरी छ ।’  kantipur