पाँच वर्षमा सुनको मूल्य दोब्बर

44

काठमाडौँ । स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँ पुगेको हो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपियाँ पाँच सय रुपियाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले २०७६ मा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको जानकारी दिनुभयो । विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उहाँको भनाइ छ । सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको उहाँको भनाइ छ । अमेरिका र चीनबीचको व्यापारयुद्धका कारणले गर्दा पनि सुनको मूल्यमा वृद्धि भएको उहाँको भनाइ छ । महासङ्घको तथ्याङ्कअनुसार पाँच वर्षमा सुनको मूल्य निरन्तरण उकालो लागेको हो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।