२९ हजार नाघ्यो ई-सिम प्रयोगकर्ताको सङ्ख्या

22

काठमाडौँ । नेपालमा ई-सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । 

नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो भने मङ्सिर ८ देखि भने देशभर ई-सिम उपलब्ध गराइएको हो ।

‘नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्टपेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्’, प्रवक्ता अधिकारीले भने, ‘ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटवर्कमा जोड्न सक्छन् ।’ तर एकपटक भने एउटा नेटवर्कमा मात्रै जोड्न सकिने उनको भनाइ छ ।