सेयर बजारमा गिरावट

25

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अङ्कको बिन्दुमा झरेको छ ।

८ पुसमा १८६७.२१ अङ्कमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अङ्कसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव देखिए पनि नेप्से घट्दै बिहीबार पुनः २१०० अङ्कको बिन्दुबाट तल झरेको छ ।

बिहीबार बजार परिसूचक नेप्से २२.१२ अङ्कले गिरावट हुँदा २०९४.५४ अङ्कमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमित भएको छ ।

बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधवारको भन्दा केही बढेको छ ।

बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैङ्कको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।