असोज १,
काठमाडौं । पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले निगममा तत्काल रणनीतिक साझेदार ल्याउनका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनले निगमलाई पब्लिक कम्पनीमा लान र सर्वसाधारणदेखि विभिन्न संस्थारनिकायलाई पनि शेयर जारी गर्न सुझाव दिएको छ। रणनीतिक साझेदारीमा नजानु तथा राजनीतिक नियुक्ति निगमको समस्याको मूल जड भएको प्रतिवेदनले औँल्याएको समिति संयोजक घिमिरेले बताए।
घिमिरेले निगमलाई सुधार गर्न निगमको लेखा प्रणाली सुधार, वित्तीय पुर्नसंरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउनुपर्ने, गन्तव्य विस्तार गर्न ए ३२० नामका न्यरोबडि किन्ने सहितका १३ वटा तत्कालीन सुझाव दिएको छ।
अब नयाँ जहाज किन्दा सिधै उत्पादकसँग मात्र किन्न, खरिद कर्यालयको प्रतिनिधि राख्नेसहितका सुझाव पनि प्रतिवेदनमा दिइएको छ। निगमले प्रविधि प्रयोग, मोबाइल एप, अनलाइनबाट टिकट काट्ने प्रणाली चलाउन पनि सुझाव दिएको छ। पब्लिक कम्पनी बनाउने सहितका दीर्घकालीन सुझाव पनि प्रतिवेदनले दिएको छ।
त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।
प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले तोकिएको समयमै प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद दिए। गत साउन २२ गते गठित समितिले काम सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाएको हो। प्रतिस्पर्धी बजारमा निगमलाई नाफामा लान प्रतिवेदनले सुझाएका उपायले सहयोग गर्ने मन्त्री भट्टराईको भनाइ छ।