Sunday, September 27, 2026
Home खेलकुद आज नवौँ राष्ट्रिय खेलकुद उद्घाटन सुरु

आज नवौँ राष्ट्रिय खेलकुद उद्घाटन सुरु

49

कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

उद्घाटन समारोहसहित आज प्रतियोगिताका विभिन्न आठ खेल सुरु हुँदैछन् । कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९ देखि सुरु हुने खेलतालिका रहेको छ । टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा आजदेखि सञ्चालन हुनेछन् । यसैगरी तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौँमा हुनेछ ।

राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना चार स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण र तीन रजत गरी सात पदक जितेर सेनालाई पछ्याइरहेको छ ।

गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल सञ्चालन गरिएको छ । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायतका कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन् । त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहने बताइन्छ ।