काठमाडौं । बागमती प्रदेश सरकारले भोटेकोशीको बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको हो । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बागमतीका तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो । प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गत असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट कटौती गर्ने निर्णय गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेशका सचिव नारायण मैनालीका अनुसार बाढीपहिरोले पुर्याएको क्षतिको पुनरुत्थान, पुनर्निर्माण तथा विपद् कोषमा स्रोत जुटाउन विभिन्न मन्त्रालयका विकासे र अन्य अनुदान शीर्षकबाट बजेट कटौती गरिएको हो ।













