सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा

108

काठमाडौँ । आगामी महिना काठमाडौँमा आयोजना हुने त्रिदेशीय एक दिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो ।

टोलीमा अलराउण्डर ज्याक जार्भिसले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । स्कटल्याण्डले विश्वकप लिग टूको अन्तिम चार खेल नेपालमा खेल्ने छ । लिग टूबाट स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपाल भ्रमणका क्रममा स्कटल्याण्डले आयोजक नेपाल र नामिबियासँग समान २/२ एक दिवसीय खेल खेल्नेछ । नामिबियासँग फेब्रुअरी १५ पहिलो खेल खेल्ने स्कटल्याण्डले फेब्रुअरी १७ मा आयोजक नेपालसँग खेल्नेछ । फेब्रुअरी २० मा नामिबियासँग खेल्ने स्कटल्याण्डले नेपाल भ्रमणको अन्तिम खेलमा फेब्रुअरी २१ मा घरेलु टोलीसँग खेल्नेछ

स्कटल्याण्ड क्रिकेट बोर्डका अनुसार १५ सदस्यीय टोली फेब्रुअरी ८ मा नेपाल भ्रमणका लागि निस्कने र फेब्रुअरी २३ मा फर्कनेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्कटल्याण्डको टोली :

रिची बेरिङटन (कप्तान),काइल कोटजर,म्याथ्यु क्रस (उपकप्तान),क्रिस ग्रीभ्स ज्याक जार्भिस,माइकल लिस्क,टम म्याकिन्टोश,क्रिस म्याकब्राइड,ब्रेण्डन म्याकमुलन,जर्ज मुन्से,सफियान शरीफ,क्रिस सोल,हम्जा ताहिर, मार्क वाट