Sunday, September 27, 2026
Home खेलकुद राष्ट्रिय युवा क्रिकेट टोली आज स्वदेश फर्कंदै

राष्ट्रिय युवा क्रिकेट टोली आज स्वदेश फर्कंदै

118

असार २५,
काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय युवा क्रिकेट टोली आज राति स्वदेश फर्कंदै छ। मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साढे ९ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो।

यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको थियो। यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो। जीतसँगै नेपाल यु–१९ एसिया कपमा समेत प्रवेश गरेको छ। श्रीलंकामा आगामी भदौ ११ गतेदेखि सुरु हुने एसिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन्।-रासस