कविताः कस्तो विडम्बना ?

103

-सत्यराम कासिछ्वा

प्रतिभा र क्षमताको खोजीमा
मात्र आवश्यकता भक्तको
कस्तो विडम्बना ?

परिवर्तनको वकालत गर्न कहिल्यै थाक्दैनन्
तैपनि सोधखोज भनसुन नै अन्तिम अस्त्र
कस्तो विडम्बना ?

प्रतिस्पर्धा नै छनोटको आधार मान्छ
तर भित्रभित्रै तय हुन्छ यहाँ निर्णय
कस्तो विडम्बना ?

दुई जिब्रे नीति चलाउँछ समाजमा
एकलाई काखा अर्कोलाई पाखा
कस्तो विडम्बना ?

शक्तिको खेलमा रमाउँदै गर्दा
बहुमतले अल्पमतको गुन्जायस नै नगर्ने
कस्तो विडम्बना ?

स्थापित हुन त कट्टर हुनुपर्ने समर्थक
आस्था र नमस्तक हुनुपर्छ
कस्तो विडम्बना ?

छाक तार्न मेहनती मजदुर विस्थापित
समाजमा सकृय नहुँदा
कस्तो विडम्बना ?