कविताः तिमी हारेकी छैनौं

494

-सुलोचना दाहाल,

यतिबेला चाडवाडहरुले
घर आँगनलाइ छपक्कै छोपेको छ,
सबै व्यस्त देखिन्छन्
परिस्थिति र परिवेश अनुरुप
रमाइरहेका छन् ।

तर, अस्मिता तिमीलाई बिगतका चाडहरुले झैँ
यो पालिको चाडले पटक्कै छोएको छैन होला
अझ गिज्याएको महशुस गरेकी होलिऊ
किनकी
यतिबेला तिम्रो मनमा पहिरो गएको छ
तिम्रा सारा
इच्छा
चाहना
उमंग
उत्साह
सबै सबै बगाएको छ
सुख्खा बगर झैँ बनेकी छौ
आफ्नो स्थित्वको लडाइमा
थाकेकी,
गलेकी
लर्खराएकी
सिपाही झैँ मैदानमा उभिएकी छौ
र समाजले लगाएका अनेक लाल्छनालगाइ
जसरी शिवजीले कालकुट बिष् पिएका थिए
ठिक उसैगरी पिइरहेकी छौ ।

थाहा छ
चिन्तित छौ
दुःखी छौ
पिडित छौ
तर,
चिन्ता कत्ति नगर अस्मिता
किनकी तिमी थाकेकी, गलेकी र लर्खराएकी अवश्य छौ
तर हारेकी भने कदापी छैनौ
तिमीले त
माया गरेकी थियौ
प्रेम गरेकी थियौ
बिश्वास गरेकी थियौ
माया, प्रेम र बिश्वास कदापी हार्नु हुदैंन
यदी हार्यो भने
संसारले हार्ने छ
सृष्टिले हार्ने छ
ब्रमाण्डले हार्ने छ

स्वार्थले
धोकाले
जालझेलले
बैमनश्यताले
जित्ने छ र सम्पूर्णको अस्तित्व सखाप बनाउने छ
त्यसैले तिमि अब चट्टान जस्तै बलियो बन्नु पर्दछ
अनि ती तमाम समाजका धमिराहरुको,
जरा
उखेल्नु पर्दछ
फाल्नु पर्दछ
जलाउनु पर्दछ
र खरानी बाग्मतीमा
सेलाउनु पर्छ
अनि मात्रै तिमि जस्तै अरु अस्मिताहरुको जन्म हुने छैन
र अनाहकमा दुःख पाउनु पर्ने छैन
त्यसैले तिमी हारेकी छैनौ
र हार्नु कदापी हुँदै हुँदैन ।

-काठमाडौं , हालः इजरायल