भक्तपुर । लेखक तथा पत्रकार हरिसुन्दर छुकांको ‘नगरकोट’ पुस्तक सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावनालाई समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक सार्वजनिक भएको हो । लेखक छुकांले “जहाँ प्रकृति छ, त्यहाँ संस्कृति छ, जहाँ संस्कृति छ, त्यहाँ सभ्यता छ” भन्ने भनाइ उद्धृत गर्दै पुस्तकमा चाँगुनारायण नगरपालिका तथा वडा नं. ६ को परिचयसँगै गंगादेवी मन्दिर, मुहान गणेश, जाल्पादेवी मन्दिर, शान्ति डाँडा, बुद्ध मूर्ति, ल्होडिम खास्योर छ्योर्तेन रिम्पोछे गुम्बा, महाँकाल मन्दिर, रत्नचुडेश्वर महादेव, कालिका मन्दिर, भँगेरी दरबार, नगरकोट टावर, रानीझुला, विभिन्न गुफा तथा पोखरीलगायत धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाबारे विस्तृत जानकारी समावेश गरिएको बताए।
उनका अनुसार पुस्तकमा ल्होछार, धान्य पूर्णिमा मेला, महादेव पोखरी मेला, बुद्ध जयन्तीलगायत नगरकोटका प्रमुख जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिका साथै पर्यटकीय आकर्षण र सम्भावनाहरूलाई पनि समेटिएको छ।
छुकांले वडाभित्र रहेका मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण, किंवदन्ती, मौखिक इतिहास तथा उपलब्ध अभिलेखलाई पुस्तकमा समेटिएको जानकारी दिए। कार्यक्रममा वक्ताहरूले नगरकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि यस्ता प्रकाशनहरू महत्वपूर्ण हुने उल्लेख गर्दै पुस्तकले अनुसन्धान, शिक्षा, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
पुस्तकको विमोचन वडा अध्यक्ष धनबहादुर लामा, वडा सदस्य हरिप्रसाद लामिछाने तथा शिक्षाविद् जीबी खड्काले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष लामा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने जीबी खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। पुस्तकको मूल्य व्यक्तिगततर्फ ४५० रुपैयाँ तथा संस्थागततर्फ १,००० रुपैयाँ निर्धारण गरिएको छ।














