Sunday, September 27, 2026
Home अर्थ बजेटमा ‘सेटिङ’ले विपक्षी आक्रामक, संसदीय छानबिन माग

बजेटमा ‘सेटिङ’ले विपक्षी आक्रामक, संसदीय छानबिन माग

78

काठमाडौं । अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा गरेको ‘चलखेल’माथि संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेको छ। अर्थमन्त्री शर्माले ‘वित्तीय अपराध’ गरेको भन्दै एमाले सांसदले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

सोमबार अर्थमन्त्री शर्माले बजेटमा गरेको चलखेलबारे ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शीर्षक विशेष खोज समाचार प्रकाशन गरेको थियो। अर्थमन्त्री शर्माले जेठ १४ गते राति ‘विज्ञ’ भन्दै पूर्वनायबसुब्बा रघुनाथ घिमिरे र अर्का एक ‘सीए’लाई मन्त्रालयमा बोलाएर बजेटमा कर र राजस्वका दर तलमाथि गराएका थिए। उनीहरूले खास–खास घरानालाई लाभ र खास–खासलाई हानि पुग्ने गरी बजेटमा ‘सेटिङ’ गरेका थिए।

देशकै बजेटमाथि भएको सेटिङ र चलखेलबारे अन्नपूर्ण पोस्ट्मा समाचार आएपछि एमालेले अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ। राजीनामा दिनुको सट्टा अर्थमन्त्रीले उल्टै घटनाको ‘ढाकछोप’ गर्न खोजेको भन्दै एमालेले संसद् अवरोधको बाटो लिएको जनाएको छ।

‘यसभन्दा अरू ठूलो राष्ट्रघात हुन सक्दैन’, संसद्मा एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अर्थमन्त्रीमा अलिकति नैतिकता हुन्थ्यो भने पहिल्यै राजीनामा दिन सक्नुहुन्थ्यो। तर, राजीनामा आएन। त्यसैले सभामुखको अग्रसरतामा संसदीय छानबिन समिति गठन होस्। एमालेको अडान यही हो।’ -अन्नपूर्ण पोस्टबाट